
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको कांग्रेस विवादसम्बन्धी पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्न अनुमति दिएको हो।
यसअघि विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध देउवा र खड्काले पुनरावलोकनका लागि छुट्टाछुट्टै निवेदन दिएका थिए। पूर्ण इजलासले प्रारम्भिक अध्ययनपछि उक्त निवेदन पुनरावलोकनका लागि स्वीकार गर्दै सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।
अब पूर्ण इजलासमा दुवै पुनरावलोकन निवेदनमाथि सुरुदेखि नै विस्तृत सुनुवाइ हुनेछ।
कांग्रेसका तत्कालीन सभापति देउवा तथा तत्कालीन कार्यवाहक सभापति खड्काले पुरानो कार्यसमितिको तर्फबाट सर्वोच्च अदालतमा पुनरावलोकनका लागि छुट्टाछुट्टै निवेदन दायर गरेका थिए।
यसअघि गत वैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो। न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काको रिट खारेज गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित