
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सरकारमा राष्ट्रियताको भावना नभएको आरोप लगाएका छन्।
समितिको बैठकमा बोल्दै सिंहले सरकारले समावेशिता र संविधानको मर्मविपरीत काम गरिरहेको दाबी गरे। उनले मधेसी, जनजाति र दलित समुदायलाई उपेक्षा गरिएको आरोप पनि लगाए।
उनले विगतका आन्दोलनहरूको प्रसंग उल्लेख गर्दै गरिब र सीमान्तकृत समुदायले नै बढी क्षति बेहोरेको दाबी गरे। “राष्ट्रियताको भावना सरकारमा छैन,” उनले भने।
सांसद सिंहले सरकारले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न नसकेको पनि टिप्पणी गरे। उनले सरकारले आफ्ना निकट व्यक्तिहरूलाई मात्र नियुक्ति दिएको आरोप लगाउँदै भने, “यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडाइएको छ।”
आफ्नो भनाइका क्रममा उनले नेपाललाई उत्तर कोरियाजस्तो शासन प्रणालीतर्फ लैजान खोजिएको आरोप लगाए। “पहिले नेपाललाई पाकिस्तान बनाउन खोजिएको भनेको थिएँ। अहिले मेरो मूल्याङ्कन फेरिएको छ। देशलाई उत्तर कोरिया बनाउन खोजिँदैछ,” उनले भने।
सिंहले आफ्नो ५६ वर्षको राजनीतिक अनुभव सुनाउँदै मधेस र थारुहट आन्दोलनका क्रममा सधैं सर्वसाधारणमाथि गोली चलेको दाबी गर्दै राज्यले सीमान्तकृत समुदायप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित