
काठमाडौं । बागमती प्रदेशमा सरकार गठनको रस्साकस्सी तीव्र भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रदेश सांसदहरूसँग छलफल गरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका सांसदहरूसँग व्यक्तिगत रूपमा भेटघाट गरी सत्ता समीकरणमा साथ दिन आग्रह गरेको सूचना पाएपछि लिङ्देनले बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा सांसदहरूलाई बोलाएर वर्तमान राजनीतिक अवस्था र पार्टीको आधिकारिक धारणा स्पष्ट पारेका हुन्।
छलफलमा अध्यक्ष लिङ्देनले विकसित राजनीतिक परिस्थिति, नयाँ वामपन्थी गठबन्धन र त्यसले प्रदेश सरकारमा पार्न सक्ने प्रभावबारे समीक्षा गरेका थिए। उनले पार्टीको निर्णय र नीतिभन्दा बाहिर गएर कुनै पनि सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन सांसदहरूलाई निर्देशन दिएका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले पार्टीको एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सांसदहरूलाई व्यक्तिगत निर्णय नगर्न आग्रह गरे। “राजनीतिमा सत्ता नै अन्तिम उद्देश्य होइन। पार्टीको विधि, विधान र आधिकारिक निर्णयभन्दा बाहिर गएर कसैले पनि व्यक्तिगत निर्णय लिनु हुँदैन,” उनले भने।
बागमती प्रदेशमा राप्रपाका १३ मध्ये ११ सांसद छलफलमा सहभागी भएका थिए। संसदीय दलका नेता उद्धव थापा, महामन्त्री तथा पूर्वसभामुख भुवन पाठकलगायतको उपस्थिति रहेको बैठकमा सांसद राजु विष्ट भने उपस्थित थिएनन्। प्रवक्ता श्रेष्ठका अनुसार विष्टले समय अभावका कारण उपस्थित हुन नसकेको जानकारी गराएका थिए।
यसअघि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो। सोही अधिकारअनुसार लिङ्देनले सांसदहरूलाई एकढिक्का रहन र पार्टीको आधिकारिक निर्णयअनुसार अघि बढ्न आग्रह गरेका हुन्।
छलफलमा सहभागी सांसदहरूले नेतृत्वको निर्णयप्रति प्रतिबद्ध रहेको र पार्टी एकतालाई कायम राख्दै अघि बढ्ने विश्वास दिलाएका छन्।
बागमती प्रदेशमा सरकार गठनका लागि राप्रपाको भूमिका निर्णायक मानिएकाले एमाले र नेपाली कांग्रेस दुवै पक्षले राप्रपाको समर्थन जुटाउन प्रयास गरिरहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित