
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठेको पुरक प्रश्नको उत्तर दिन गृहमन्त्रीले अस्वीकार गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको छ र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रश्न सोध्न अनुमति दिएपछि गृहमन्त्रीले उक्त विषय अत्यन्त संवेदनशील रहेको भन्दै जवाफ सुरु गरेका थिए।
जवाफका क्रममा उनले सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्दै भने, “यो विषय अत्यन्त संवेदनशील छ। तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन? आमाको घाउ संसद्मार्फत बारम्बार कोट्याउने कि न्याय दिलाउने?”
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। घटना भएको वर्षौं बितिसक्दा पनि अनेक अनुसन्धान समिति गठन भए तापनि दोषीको पहिचान र पक्राउ हुन सकेको छैन।
अनुसन्धान जारी रहेको उल्लेख गर्दै गृहमन्त्रीले भने, “धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन। हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं। यो विषय सदनमा बारम्बार नउठाइदिनुहुन अनुरोध गर्छु। थप जिज्ञासा भए व्यक्तिगत रूपमा सोध्न सक्नुहुन्छ।”
गृहमन्त्रीको जवाफपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिएका थिए। सांसद विश्वकर्माले संसद्मा प्रश्न सोध्नु आफ्नो संवैधानिक तथा संसदीय अधिकार भएको उल्लेख गर्दै पुनः प्रश्न गरे, “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?”
त्यसपछि अध्यक्ष दाहालले पुनः गृहमन्त्रीलाई उत्तर दिन आग्रह गरेका थिए। तर दोस्रो पटक रोस्ट्रममा उभिएका गृहमन्त्रीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ।”
गृहमन्त्रीले पुरक प्रश्नको उत्तर दिन अस्वीकार गरेपछि केहीबेर राष्ट्रिय सभामा अन्योलको अवस्था सिर्जना भएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित