राष्ट्रिय परिचयपत्रको सर्भर समस्याले १६ सरकारी निकायको सेवा प्रभावित

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ‘एनआईडीएमआईएस’ (NIDMIS) प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहदानीसहित १६ वटा सरकारी निकायको सेवा प्रभावित भएको छ। प्रणालीबाट राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण हुन नसक्दा हजारौं सेवाग्राहीले सास्ती भोगिरहेका छन्।

दाङको घोराहीका निराजन शाही आफ्नी सालीको राहदानी बनाउन एक सातादेखि विभाग धाइरहेका छन्। १२ हजार रुपैयाँ शुल्क तिरेर तत्काल राहदानीका लागि आवेदन दिएका उनी राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण हुन नसक्दा राहदानी पाउन सकेका छैनन्।

“तीन दिनदेखि विभाग धाइरहेको छु। प्रत्येक पटक केहीबेरमा हुन्छ भनिन्छ, तर अहिलेसम्म काम भएको छैन,” उनले गुनासो गरे।

पोखरा–१६ का डिलहादुर परियारको अवस्था पनि उस्तै छ। दुई साताभन्दा बढी समयदेखि राहदानीको प्रतीक्षामा रहेका उनी काठमाडौं बसाइमै २५ हजार रुपैयाँभन्दा बढी खर्च भएको बताउँछन्।

दोलखाको जिरीबाट आमासहित राहदानी बनाउन आएका कुशल तामाङ पनि यही समस्याका कारण निराश बनेका छन्। उनकी आमाले सरकारले नागरिकलाई सहज सेवा दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

राहदानी विभागमा दैनिक सयौं सेवाग्राही राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण नहुँदा फर्किन बाध्य भइरहेका छन्। कर्मचारीहरूले आवेदनमा ‘तपाईंको विवरण हाम्रो सिस्टममा देखाएन’ भन्ने टिप्पणी लेखेर सेवाग्राहीलाई प्रतीक्षा गर्न आग्रह गर्ने गरेका छन्।

१६ सरकारी निकायको सेवा प्रभावित

सर्भर समस्याको असर राहदानी विभागमा मात्र सीमित छैन। राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा निर्भर रहेका शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, चिकित्सा शिक्षा आयोग, यातायात व्यवस्था विभाग, सूचना प्रविधि विभाग, आन्तरिक राजस्व विभाग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्जा सूचना केन्द्र, राष्ट्रिय किताबखाना (निजामती), नेपाल राष्ट्र बैंक, निवृत्तिभरण व्यवस्थापन कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत १६ सरकारी निकायको सेवा प्रभावित भएको छ।

पञ्जीकरण विभागले मागेको थियो सहजीकरण

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन ७ गते राहदानी विभागलाई पत्राचार गर्दै ‘एनआईडीएमआईएस’ प्रणालीबाट राष्ट्रिय परिचयपत्र नम्बर जारी भए पनि ‘सिटिजन पोर्टल’मार्फत तत्काल प्रमाणीकरण हुन नसकेको जानकारी गराएको थियो।

विभागले प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउन्जेलसम्म ‘कन्फर्मेसन पेज’का आधारमा सेवा सहजीकरण गरिदिन आग्रह गरेको थियो। साथै, मर्मत कार्य सम्पन्न भएपछि जानकारी गराइने उल्लेख गरेको थियो।

राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेका अनुसार हालसम्म समस्या समाधान भएको औपचारिक जानकारी प्राप्त भएको छैन।

उनले भने, “राष्ट्रिय परिचयपत्र प्रणालीको समस्याका कारण सेवाग्राहीको दबाब हामीमाथि परेको छ। सम्बन्धित विभागसँग निरन्तर समन्वय गरिरहेका छौं। उहाँहरूले समस्या चाँडै समाधान हुने बताएका छन्।”

बारम्बार दोहोरिने समस्या

राष्ट्रिय परिचयपत्र प्रणालीमा समस्या देखिएको यो पहिलो पटक भने होइन। यसअघि असार र वैशाख महिनामा पनि सर्भर अवरुद्ध हुँदा नयाँ परिचयपत्र नम्बर प्रमाणीकरण हुन नसकेपछि सेवा प्रभावित भएको थियो। त्यसबेला विभागमा पुगेका सेवाग्राहीले विरोधसमेत गरेका थिए।

सूचना प्रविधि निर्देशक राम थापाले प्रणालीको क्षमता पुरानो भइसकेकाले समस्या उत्पन्न भएको बताए। उनका अनुसार सन् २०१८ देखि सञ्चालनमा रहेको प्रणालीको क्षमता समयअनुसार विस्तार हुन नसक्दा दैनिक सेवा प्रवाहमा असर परेको हो।

“पहिले दैनिक करिब १३ हजार अनुरोध प्रणालीले थेग्थ्यो, अहिले त्यो क्षमता उल्लेख्य रूपमा घटेको छ। प्रणाली स्तरोन्नतिको काम भइरहेको छ र केही दिनभित्र समस्या समाधान हुने अपेक्षा गरेका छौं,” उनले भने।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग गृह मन्त्रालयअन्तर्गत रहे पनि बारम्बार समस्या दोहोरिँदा दीर्घकालीन समाधान हुन नसकेको भन्दै सेवाग्राहीले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार