
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यासका लागि सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारसँग जवाफ मागे।
सम्बोधनको सुरुवातमै प्रसाईंले आफूले विगतमा गरेको भाषण सम्झिँदा अहिले लाज लाग्ने अवस्था आएको बताए।
‘सभामुखज्यू, म कहिलेकाहीँ कन्फ्युज्ड हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन,’ भन्दै उनले चुनावताका आफूले सरकारी सेवामा हुने लाइन अन्त्य गर्ने विषयमा गरेको भाषण सम्झिए।
‘त्यसबेला गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेका दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ उनले भने।
प्रसाईंले सरकारसमक्ष ग्यास अभावबारे दुईवटा प्रश्नसमेत राखे।
उनको पहिलो प्रश्न थियो, ‘प्रधानमन्त्री र मन्त्रीका क्वार्टरमा अहिले ग्यासको अभाव छ कि छैन?’
त्यस्तै, सरकारले भनेजस्तै ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र पर्याप्त ग्यास आयात भइरहे पनि कालोबजारी भएको हो भने त्यसमा संलग्नलाई कारबाही गर्न सरकारले किन नसकेको भन्दै उनले प्रश्न गरे।
‘यदि कृत्रिम अभाव सिर्जना भएको र सरकारले भनेजस्तै ग्यास ह्वारह्वार्ती आएर पनि कालोबजारी भइरहेको भए कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई?’ उनले प्रश्न गरे।
प्रसाईंले जनताले नयाँ सरकार खोज्दा चिल्ला र आकर्षक अनुहार मात्र नभई नयाँ राजनीतिक चरित्र र व्यवहार खोजेको बताए।
उनले सरकार परिवर्तन भए पनि सर्वसाधारणका दैनिक समस्या समाधान नभए त्यसको औचित्यमाथि प्रश्न उठ्ने संकेत गर्दै जनताको आधारभूत आवश्यकतामा सरकार गम्भीर हुनुपर्ने बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित