
काठमाडौं । राप्रपाबाट अलग भएका डा. धवलशम्शेर राणाको समूहले साउन २९ गते नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेको छ। ‘जय नेपाल पार्टी’ नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको धवल पक्षले जनाएको छ।
धवलशम्शेर समूह र राजावादी व्यवसायी दुर्गा प्रसाईं समूहबीच यसअघि एकता घोषणा भएको थियो। तर, पार्टी औपचारिक रूपमा दर्ता नहुँदै दुई पक्षबीचको सहकार्य संकटमा परेको छ। प्रसाईंले मंगलबार एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा धवलशम्शेरमाथि विभिन्न आरोप लगाएपछि सहकार्यको वातावरण थप बिग्रिएको धवल पक्षको भनाइ छ।
धवल पक्षका नेता मुकुन्दश्याम गिरीले साउन २९ गते पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए।
‘उहाँहरू (दुर्गा पक्ष) आउनुहुन्छ भन्ने नै छ। आउनुभएन भने पनि हामी अब रोकिँदैनौँ,’ गिरीले भने।
यसअघि राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ बन्ने गरी नयाँ पार्टी गठनको घोषणा गरिएको थियो। तर, पार्टीको वरीयता र अधिकार बाँडफाँटको विषयमा दुई पक्षबीच विवाद देखिएको छ।
धवल पक्षले अध्यक्ष नै पहिलो वरीयतामा हुनुपर्ने अडान राखेको छ। प्रसाईं पक्षले भने ‘सर्वोच्च नेता’ भन्दा माथि अर्को पद हुन नसक्ने तर्क गर्दै सर्वोच्च नेताको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने माग गरेको छ।
प्रसाईं पक्षले सर्वोच्च नेतालाई कार्यकारी अधिकार दिनुपर्ने र अध्यक्षसँग अधिकार बाँडफाँट गर्नुपर्ने अडान राखेको छ। साथै, निर्वाचनमा उम्मेदवारको टिकट वितरण गर्दा प्रसाईंको समेत हस्ताक्षर हुनुपर्ने माग अघि सारिएको छ। धवल पक्ष भने यी प्रस्तावमा सहमत छैन।
बुधबार दुवै पक्षका कार्यदलबीच बैठक बसे पनि सहमति जुट्न सकेन। यद्यपि, सहकार्यको सम्भावना पूर्ण रूपमा समाप्त नभएको दुवै पक्षका नेताहरूले बताएका छन्।
धवल पक्षका गिरीले सकेसम्म मिलेरै अघि बढ्ने आफूहरूको चाहना रहेको बताए।
‘सकेसम्म मिलेरै जाने पक्षमा छौँ। उहाँ (दुर्गा प्रसाईं) ले दिएका अभिव्यक्तिहरू उहाँका निजी धारणा हुन्। त्यसैका कारण सहकार्य तोडिन्छ जस्तो लाग्दैन,’ उनले भने।
प्रसाईं पक्षका नेता माधव कल्पितले पनि आफूहरू मिलेरै अघि बढ्ने पक्षमा रहेको बताए। दुई पक्षबीच अझै संवाद भइरहेको र साउन २९ गते सँगै दल दर्ता गर्न जाने सम्भावना कायम रहेको उनको दाबी छ।
‘सहकार्य टुटिसक्यो भन्ने होइन। म त जसरी पनि मिल्नुपर्छ भन्नेमा नै छु,’ कल्पितले भने।
प्रसाईंका पछिल्ला अभिव्यक्तिले एकतामा ठूलो असर नपर्ने उनको भनाइ छ।
‘बिहानदेखि बेलुकासम्म बोलिरहने मान्छेले कहिलेकाहीँ सही कुरा बोल्छन्, कहिले गलत बोल्छन्। त्यसलाई धेरै गम्भीर रूपमा लिइरहनुपर्छ जस्तो लाग्दैन,’ उनले भने।
तर, प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशीले भने सहकार्यको सम्भावना क्षीण भइसकेको बताइन्।
‘दुर्गा प्रसाईंजीले अन्तर्वार्तामा जेजस्ता कुरा बोल्नुभएको छ, त्यसले सहकार्यको वातावरण बिग्रिएको छ। हामी आफ्नै तरिकाले २९ गते पार्टी दर्ताको तयारीमा छौँ। उहाँहरूको पक्षबाट आउनुहुनेलाई समेट्छौँ, तर संस्थागत सहकार्यको अवस्था अब रहेन,’ जोशीले भनिन्।
दुई पक्षबीच यसअघि १०१ सदस्यीय केन्द्रीय समिति बनाउने समझदारी भएको थियो। जसअनुसार धवल समूहबाट ४० जना, प्रसाईं समूहबाट ४० जना र बाँकी २० जना अन्य समूहबाट आउनेलाई समेट्ने भनिएको थियो।
जोशीका अनुसार पार्टी दर्ताका लागि साउन २९ गते दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा समय लिइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित