
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद, विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलाप र राष्ट्रिय एकताको मार्गमा अघि बढ्न आह्वान गरेका छन्।
सिंगापुरमा थप उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो रोज्नुभन्दा विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै राष्ट्रिय एकता मजबुत बनाउनुपर्ने बताएका हुन्।
स्वदेश फर्किएपछि उनले भने, ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं।’ उनले प्रत्येक बालबालिकाले निर्भीक भएर सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन पाउने र सबै समुदायले अवसर तथा समृद्धिसहित अघि बढ्न सक्ने नेपाल निर्माण गर्नुपर्ने बताए।
देउवाले सार्वजनिक पदमा बसेर काम गर्दा आलोचना र प्रत्यालोचना स्वाभाविक भए पनि आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरे। उनले कानुन र नीतिविपरीत कुनै काम नगरेको उल्लेख गर्दै आफ्नो जीवन खुला किताब भएको बताए।
उनले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हितका साथै संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार अघि बढाउने प्रतिबद्धता जनाए।
‘जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्नेछु। यी विषयमा कसैसँग मेरो सम्झौता हुन सक्दैन,’ देउवाले भने।
आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको उनको भनाइ छ। ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु–विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भने।
देउवाले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गरे। अहिले पनि मुलुकमा राष्ट्रिय एकता मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता रहेको उनले बताए।
नेपाली कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलहरूसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताए।
उनले नेपाली कांग्रेस कसैको व्यक्तिगत अहंकार वा स्वार्थमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा पनि राखे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित