
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री शाहले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको हो। प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुनसमेत ह्विप जारी गरिएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
सत्ता गठबन्धनमा रहेको एमालेले साउन ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। संविधानअनुसार समर्थन गर्ने दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने व्यवस्था छ। आज उक्त समयसीमाको अन्तिम दिन हो।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारीसहित सभामुखलाई पत्र पठाएपछि एमालेले विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको हो। यता, कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
यस विषयमा निर्णय गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ। हिजो सरकारी निवासमा बसेको संसदीय दलको बैठकले आज पुनः बैठक बसेर मुख्यमन्त्रीको आगामी कदमबारे निर्णय गर्ने निष्कर्ष निकालेको थियो।
कांग्रेसका सांसदहरूका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आजको बैठकले अन्तिम निर्णय गर्नेछ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा हाल अमेरिका छन्।
कांग्रेसका १८ सांसदबाहेक सरकार जोगाउन मुख्यमन्त्री शाहलाई थप ९ सांसदको समर्थन आवश्यक पर्छ। थप मतको सुनिश्चितता नभएपछि कांग्रेसकै केही सांसदले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका छन्।
आज दिउँसो ३ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको आगामी कदम टुंगो लगाउने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित