
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार बिहान एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसअघि कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
भट्टले आजै दिउँसो ३ बजे शपथ लिने तयारी गरिएको छ । उनले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।
नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत टुंगिएको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्नेछ ।
यसअघि एमालेले बजेटमा असहमति जनाउँदै असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित