देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ : रमेश लेखक

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई एकढिक्का बनाउने बताएका छन्। कांग्रेसको देउवा पक्षले शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

लामो उपचारपछि नेपाल फर्किएका देउवाको आगमन कांग्रेसका लागि मात्रै नभई देशकै लागि सुखद् भएको लेखकले बताए। उनले अहिले मुलुकको अवस्था सरल, सामान्य र सहज नरहेको उल्लेख गर्दै यस्तो जटिल परिस्थितिमा देशलाई कांग्रेसले नेतृत्व दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।

‘अब शेरबहादुर देउवाको आगमनसँगै राष्ट्रिय संकटका विषयमा पार्टीहरूबीच छलफल हुन्छ,’ उनले भने, ‘यो अवस्थामा कांग्रेसले मुलुकलाई राहत दिनुपर्ने हो, तर भइरहेको छैन। अब शेरबहादुर देउवाको आगमनले देशमा देखिएको संकटबारे छलफल हुने विश्वास लिएको छु।’

लेखकले कांग्रेसको विशेष महाधिवेशनलाई समय नपुगी शल्यक्रिया गरेर निकालिएको शिशुसँग तुलना गरे। ‘बेला नपुगी निकालिएको शिशु कस्तो हुन्छ, अहिले विशेष महाधिवेशन पक्षधरको अवस्था त्यस्तै भएको छ,’ उनले भने।

विशेष महाधिवेशनका कारण कांग्रेस विभाजनको अवस्थामा पुगेको दाबी गर्दै लेखकले देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

‘विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ। देउवाजीको नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउवाजीले वैधानिक रूपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन। स्वाभाविक जन्मलाई अस्वीकार गरेर अप्राकृतिक रूपमा जन्म दिइयो भने शरीर स्वस्थ हुन सक्दैन।’

उनले पार्टीमा देखिएको समस्या जहाँबाट उत्पन्न भएको हो, त्यहीँबाट समाधान खोज्नुपर्ने बताए। त्यसका लागि १४औँ महाधिवेशन आयोजक समिति र विशेष महाधिवेशन आयोजक समितिबीच छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ।

‘त्रुटि जहाँ भएको छ, त्यहीँबाट सच्याउनुपर्छ। १४औँ महाधिवेशन समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँमा बसेर निकास निकाल्नुपर्छ,’ लेखकले भने।

प्रतिक्रिया

ताजा समाचार