पूर्णबहादुरले छाडे इतर समूहको साथ, पार्टी विभाजनको पक्षमा नरहेको संकेत

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर समूहले आयोजना गरेको तीनदिने भेलाको समापनमा सहभागी भएनन्। पूर्वसभापति शेरबहादुर देउवाका निकट मानिने खड्का पछिल्लो समय देउवा समूहसँगै असन्तुष्ट रहेको खुलेको छ।

जेनजी आन्दोलनपछि सभापति देउवाले आफू राजनीतिबाट विश्राम लिने बताउँदै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर केही समयपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरे। त्यससँगै कांग्रेसमा अनौपचारिक विभाजन देखिएको थियो। इतर पक्षको नेतृत्व खड्काले गर्दै आएका थिए।

निर्वाचन आयोग र अदालतले समेत गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई वैधानिकता दिएपछि इतर पक्षका थुप्रै नेताले गगन पक्षबाट टिकट लिएर निर्वाचनमा भाग लिए। खड्काले भने टिकट पाएनन् वा लिएनन्। इतर पक्षबाट निर्वाचन लडेका अधिकांश नेता पराजित भए। निर्वाचनमा कांग्रेसको नतिजा निराशाजनक आएपछि इतर पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

पछिल्लो समय नेता खड्का भने यस्ता समानान्तर गतिविधिको पक्षमा नरहेको उनीनिकट स्रोतको भनाइ छ। उनी राष्ट्रिय भेला आयोजना गर्ने विषयमा समेत सहमत थिएनन्। खड्का पन्छिएपछि भेलाको संयोजकको जिम्मेवारी शशाङ्क कोइरालालाई दिइएको थियो। त्यसयता कोइराला नै इतर पक्षको नेतृत्व गर्दै आएका छन्।

आइतबार सम्पन्न भेलाले कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको संयोजन गर्ने जिम्मेवारी पनि शशाङ्क कोइरालालाई दिइएको छ।

स्रोतका अनुसार पूर्णबहादुर खड्का भने पार्टी विभाजनको पक्षमा छैनन्। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा अदालतले पुनरावलोकनको आदेश दिएकाले त्यसको फैसला पर्खिनुपर्ने उनको धारणा छ। तर इतर पक्षका अधिकांश नेताले भने धैर्यता गुमाइसकेको स्रोतको भनाइ छ।

भेलाको पहिलो दिन खड्का सहभागी भएका थिए र उनले सम्बोधनसमेत गरेका थिए। आफ्नो सम्बोधनमा उनले देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए। स्रोतका अनुसार त्यस दिन पनि खड्का भेलामा सहभागी हुन इच्छुक थिएनन्। भर्खरै विदेशबाट फर्किएका पूर्वसभापति देउवा असन्तुष्ट हुन सक्ने भन्दै उनी भेलामा सहभागी भएको स्रोतको दाबी छ।

अब खड्का इतर पक्षले सञ्चालन गर्ने समानान्तर गतिविधिमा सहभागी नहुने उनीनिकट स्रोतको दाबी छ।

प्रतिक्रिया

ताजा समाचार