कांग्रेस संस्थापनइतर समूहका पाँच निर्णय : देउवाको नेतृत्वमा १५औँ महाधिवेशन गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला तथा सम्मेलन पाँचबुँदे निर्णय गर्दै सम्पन्न भएको छ। साउन २९ गतेदेखि सुरु भएको सम्मेलनमा पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय एकता, सनातन धर्मको संरक्षण तथा संविधान संशोधनलगायत विषयमा निर्णय गरिएको हो।

सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध हुने प्रतिबद्धता जनाएको छ।

१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्दै जाने निर्णय पनि गरिएको छ। सम्मेलनपछि पूर्वमहामन्त्री शशांक कोइरालालाई संस्थापनइतर समूहका आगामी कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

सम्मेलनले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने निर्णय गरेको छ।

त्यस्तै, नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दू, बौद्ध, किरात र प्रकृत धर्मको संरक्षण गर्ने निर्णयमा उल्लेख छ।

वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै रहेको व्यवस्थाबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय पनि सम्मेलनले गरेको छ।

सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई अन्तिम रूप दिई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सीता राना तथा सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेका छन्।

सम्मेलनको उद्घाटन तथा समापन सत्रमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार