
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै अहिले नेतृत्वविरुद्ध उभिएको आरोप लगाएका छन्।
आइतबार झापाको बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीबाट पर्याप्त अवसर नपाएका नेता–कार्यकर्ता असन्तुष्ट नरहेको तर पटक–पटक अवसर पाएकाहरू नै असन्तुष्ट बनेको दाबी गरे।
‘पाएका, खाएका, लाएकाहरू नै बढी असन्तुष्ट छन्,’ ओलीले भने, ‘जसले पार्टीबाट पर्याप्त अवसर लिए, तिनै अहिले असन्तुष्ट छन्।’
ओलीले लामो समय पार्टीबाट अवसर पाएका केही नेताहरूले थप अवसरको अपेक्षामा नेतृत्वविरुद्ध असन्तुष्टि पोखिरहेको आरोप लगाए। पार्टीबाट कुनै अवसर नपाएकाहरूले समेत निर्वाचनमा एमालेलाई मतदान गरेको तर अवसर पाइरहेकाहरूले पछिल्लो निर्वाचनमा मत परिवर्तन गरेको उनको दाबी थियो।
पदको लोभ गर्ने प्रवृत्तिप्रति व्यंग्य गर्दै ओलीले ‘किर्ना’को उदाहरणसमेत दिए। ‘किर्नाले खाएर अघाएपछि भैंसीको आङबाट पुलुक्क भुइँमा खस्छ। एमालेलाई पनि अहिले भैंसी बनाउन खोजिँदैछ,’ उनले भने।
अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको पुनर्गठनको बहसलाई समेत अस्वीकार गर्दै अहिले पुनर्गठन नभई ‘पुनर्जागरण’ आवश्यक रहेको बताए। अध्यक्ष हटाउनेदेखि हस्ताक्षर अभियान चलाउनेसम्मका गतिविधिप्रति संकेत गर्दै उनले त्यस्ता गतिविधिलाई स्वार्थी र महत्त्वाकांक्षी व्यक्तिहरूको प्रयासको संज्ञा दिए।
‘पुनर्गठनको चर्चा छ, के हो पुनर्गठन? अध्यक्ष हटाउने कुरा सडकछाप कुरा हो। यो स्वार्थी र महत्त्वाकांक्षीहरूको कुरा हो,’ ओलीले भने, ‘पुनर्गठन होइन, अहिले पुनर्जागरणको समय आएको छ।’
ओलीले आफूलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाइएको र सामाजिक सञ्जालमार्फत विभिन्न टिप्पणी भइरहेकोप्रति पनि आपत्ति जनाए।
उनले पार्टी अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाअनुसार मात्र अघि बढ्न सक्ने बताए। ‘अध्यक्ष हटाउने, हस्ताक्षर अभियान गर्ने काम सुन्दैछु। सामाजिक सञ्जालमा लेखेर अध्यक्ष हट्छ? त्यो अनुशासनहीनता हो,’ उनले भने।
पार्टीभित्र असन्तुष्टि भए आन्तरिक छलफल तथा बैठकमार्फत विषय राख्नुपर्ने उनको भनाइ थियो। पार्टी संकटमा रहेका बेला नेतृत्व परिवर्तनको बहस चलाउनु उपयुक्त नभएको ओलीले बताए।
अहिलेको अवस्थामा पार्टीका नेता–कार्यकर्ता अध्यक्ष हटाउने पक्षमा नरहेको दाबी गर्दै ओलीले विभाजनकारी गतिविधिमा नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरे।
‘यो संकटको बेला हो। यस्तो बेला अध्यक्षलाई हटाउने कुरा सुन्दा ताजुब लाग्छ,’ उनले भने, ‘कार्यकर्ताको पंक्तिले अध्यक्ष हटाउन चाहेको छैन। बरु एकताबद्ध भएर अघि बढ्न भनिरहेका छन्।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित