
विराटनगर । कोशी प्रदेश सरकारको आज पुनर्गठन हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख परशुराम खापुङसँग दिउँसो ३ बजेका लागि समय माग गरिएको छ । एमालेका तर्फबाट हाल सरकारमा रहेका मन्त्रीहरूले नै निरन्तरता पाउनेछन् । उनीहरूको मन्त्रालय भने हेरफेर हुने भएको छ ।
सरकार पुनर्गठन हुँदा एमालेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चारवटा मन्त्रालय आफ्नो भागमा राख्ने सहमति भएको छ । यस्तै, नेकपाले चारवटा मन्त्रालय पाउनेछ । एमालेका तर्फबाट हाल सरकारमा रहेका मन्त्रीहरूले नै निरन्तरता पाउने एमालेले जनाएको छ ।
नेकपाले भने शपथ ग्रहणको समय तय भइसक्दा पनि मन्त्रीहरूको नाम टुंगो लगाउन सकेको छैन । मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले नेकपा प्रदेश कमिटी सचिवालयको बैठक बसिरहेको छ । बैठकले मन्त्रीहरूको नाम अन्तिम रूप दिने बताइएको छ ।
दुई दिनअघि बसेको संसदीय दलको बैठकमा प्रदेश सभामा रहेका १७ सांसदमध्ये १५ जनाले मन्त्री बन्न दाबी गरेका थिए । मन्त्री बन्न चाहनेको संख्या धेरै भएपछि अन्तिम नाम सिफारिस गर्ने जिम्मेवारी प्रदेश कमिटी सचिवालयलाई दिइएको छ ।
नेकपा स्रोतका अनुसार मन्त्री बन्नेहरूको नाम लगभग टुंगो लागिसकेको भए पनि पार्टीको नेतृत्व गर्दै सरकारमा को जाने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन । नेकपाबाट सरकारको नेतृत्व गर्दै जान तीन जनाले दाबी गरेका छन् ।
उनीहरूमध्ये प्रचण्डका ज्वाइँ जीवन आचार्यले सबैभन्दा बढी शक्ति प्रयोग गरिरहेको स्रोतको दाबी छ । आचार्यबाहेक बाबुराम गौतम र दुर्गा चापागाईंले पनि पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुन पाउनुपर्ने दाबी गरेका छन् । उनीहरूमध्ये एक जना सरकारमा सहभागी हुने नेकपाले जनाएको छ ।
उनीहरूबाहेक सोलुखुम्बुका सांसद गोम्बु शेर्पा, खिनु लङ्वा, गीता तिमल्सिना र राजन किराँती पनि मन्त्री बन्ने दौडमा छन् । यस्तै, सपना परियार पनि मन्त्री बन्ने लाइनमा रहेको बताइएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित