विश्वासको मतमा आचार्यलाई बहुमतको बल, विपक्षमा कांग्रेस–जनमत

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि दलका तर्फबाट धारणा राख्दै चारवटै दलका नेताहरूले उनको पक्षमा मतदान गर्ने जानकारी गराएका हुन् ।

बैठकमा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेको एमालेका तर्फबाट मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने बताए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाका तारा थापाले पनि आचार्यको पक्षमा मतदान गर्ने घोषणा गरे ।

सरकारलाई समर्थन गरिरहेका दलहरूले विश्वासको मत दिने स्पष्ट धारणा राखेसँगै मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुटेको छ ।

विश्वासको मत लिनुअघि सरकारको पक्षमा रहेका दलका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएका थिए । त्यसपछि उनीहरू सामूहिक रूपमा प्रदेश सभा बैठकमा सहभागी भएका हुन् ।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने भएको छ । प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विपक्षमा मतदान गर्ने जानकारी गराए । कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीपसमेत जारी गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने भएको छ । राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनका क्रममा पार्टी तटस्थ रहने प्रदेश सभालाई जानकारी गराइन् ।

त्यस्तै, जनमत पार्टीले पनि मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । जनमत पार्टीका दल नेता चन्द्रकेश गुप्ताले विपक्षमा मतदान गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलका नेताहरूले धारणा राखिसकेपछि अब मत विभाजनमार्फत प्रस्ताव टुंगो लगाउने प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार