संसद्मा ७८ दिनपछि हट्यो विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तथा प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन सभामुखले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेपछि विपक्षी दलका सांसदहरू विरोधबाट पछि हटेका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विगतका बैठकमा जस्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डीपी अर्यालले लामो समयदेखि प्रधानमन्त्री बालेन शाह र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरे ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई रुलिङ गर्छु ।’

सभामुखको रुलिङपछि पनि विपक्षी दलका सांसदहरू केहीबेर अलमलमा परेका थिए । १७ जेठ २०८३ देखि उनीहरूले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिको जवाफ माग गर्दै प्रत्येक दिन सदनमा विरोध जनाउँदै आएका थिए ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको विषयमा समेत सभामुख र सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सभामुखले भने सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै टिप्पणी नगरी प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन तयार पार्ने गरी रुलिङ गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टामा सञ्चालन गर्ने व्यवस्था छ । यो विषय सभामुख र सदनले कार्यान्वयन गर्ने भए पनि प्रधानमन्त्री तयार नभएपछि सभामुखले रुलिङ गरेका हुन् ।

सीमासम्बन्धी अभिव्यक्तिमा जवाफ माग गर्दै विरोध गर्दै आएका विपक्षी सांसदहरूलाई सभामुखले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका विषयमा मात्र रुलिङ गरेपछि केहीबेर अन्योल भएको थियो ।

सभामुख अर्यालले ‘माननीय सदस्यहरूले माग गरेबमोजिम सरकार र प्रधानमन्त्रीका नाममा रुलिङ गरिसकेको’ भन्दै सांसदहरूलाई बस्न आग्रह गरे । त्यसपछि विपक्षी दलका सांसदहरू बसे ।

यससँगै प्रतिनिधिसभामा ७८ दिनदेखि जारी विपक्षी दलहरूको विरोध हटेको हो ।

गत १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवादसम्बन्धी दुईवटा विषय उठाएका थिए ।

पहिलो, उनले यस विषयमा भारत र चीनसँग मात्रै नभई बेलायत सरकारसँग समेत कुरा गरेको बताएका थिए । ब्रिटिस इन्डियाले छाड्दै गर्दाको समस्याका कारण सीमा विवाद कायम रहेकाले बेलायतले पनि यस विषयमा सरोकार राख्नुपर्ने सरकारको धारणा रहेको उनको भनाइ थियो ।

दोस्रो, उनले भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि विभिन्न स्थानमा भारतीय भूमि मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको बताएका थिए ।

प्रधानमन्त्री बालेनले लिपुलेकको सीमा विवादबारे भारत र चीनबाहेक अर्को मुलुकसँग समेत सरकारले कुरा गरेको बताएपछि विपक्षी दलहरूले उनको अभिव्यक्तिबारे तथ्य र स्पष्टीकरण माग गरेका थिए । तर, प्रधानमन्त्री स्पष्टीकरण दिन तयार भएनन् ।

त्यसपछि जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिनसम्म प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध जारी रह्यो । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाउने र प्रधानमन्त्रीसँग जवाफ माग गर्ने क्रम चल्दै आएको थियो ।

प्रधानमन्त्री न सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण दिन तयार भए न प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन । यस्तो अवस्थामा सभामुखले प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेपछि सोमबार विपक्षी दलका सांसदहरू विरोधबाट पछि हटेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार