लुम्बिनीमा आचार्यको सरकार जोगियो, विश्वासको मतमा ४५ मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक थियो ।

प्रदेश सभाका ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले विश्वासको मत दिएका छन् ।

पक्षमा परेको ४५ मत बहुमत रहेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

आचार्यको पक्षमा एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मतदान गरेका छन् ।

प्रदेश सभा बैठकमा आठ सांसद अनुपस्थित रहे भने तीन सांसद तटस्थ बसे । सत्ता पक्ष नेकपाका एक सांसद विदेशमा रहेकाले अनुपस्थित भएका थिए । जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित थिइन् ।

प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारू, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भएका थिए ।

लुम्बिनीमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारूढ छन् भने कांग्रेस र जनमत पार्टी विपक्षमा छन् । राप्रपा भने तटस्थ रहेको छ ।

जसपा नेपाललाई सरकारबाट बाहिरिन पार्टी केन्द्रले निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले नेतृत्वको सरकार जोगिएको हो ।

जसपा नेपालका चार सांसदले विश्वासको मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने अवस्था थियो ।

प्रतिक्रिया

ताजा समाचार