
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा लामो समयदेखि अनुपस्थित हुँदै आएका प्रधानमन्त्री बालेन्द्र शाह अब सांसदका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुनुपर्ने भएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई आगामी १० भदौमा प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन ‘रुलिङ’ गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साताको एक दिन सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर प्रधानमन्त्री शाह लामो समयदेखि संसद्मा अनुपस्थित भएपछि सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन्।
गत १७ जेठमा प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि सांसदहरूले संसद्मा उपस्थित भएर त्यसबारे स्पष्टीकरण दिन माग गर्दै आएका थिए।
वैशाखको अन्तिम साता नीति तथा कार्यक्रममाथिको छलफलमा समेत प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उठेको थियो। त्यसबेला विपक्षी दलका सांसदहरूले सभामुखसँग रुलिङको माग गरे पनि रुलिङ भएको थिएन।
प्रधानमन्त्री शाह १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी भएका थिए। त्यसपछि उनी ३० असारमा मात्र संसद्मा उपस्थित भएका थिए। त्यसयता उनी प्रतिनिधिसभा बैठकमा अनुपस्थित छन्।
सीमासम्बन्धी अभिव्यक्ति तथा सरकारको कामकारबाहीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित