मन्त्रीका लागि लाखौँको हेलिकप्टर, कर्णालीका जनतालाई सिटामोलसमेत छैन : वासना थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्री सामान्य बिरामी हुँदा लाखौँ रुपैयाँ खर्च गरेर काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले जनताले सिटामोलसमेत नपाइरहेको अवस्थामा मन्त्रीलाई ३०–३५ लाख रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको बताइन्।

उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ। मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन।’

बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई सरकारले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको उनले बताइन्।

‘यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्, मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो समानता राज्य? के यही हो जनताको सरकार?’ उनले प्रश्न गरिन्।

एक्सप्रेसवेको कुरा गर्ने सरकारले कर्णालीका नागरिकका लागि आवश्यक औषधिसमेत पुर्‍याउन नसकेको थापाले बताइन्।

प्रतिक्रिया

ताजा समाचार