पूर्वराजा ज्ञानेन्द्रसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरको दुई घन्टा लामाे भेटवार्ता

काठमाडौं । जय नेपाल पार्टीका सभापति तथा पूर्वसांसद धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग करिब दुई घन्टा भेटवार्ता गरेका छन् ।

काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको भेटवार्तामा समसामयिक राजनीतिक तथा सामाजिक विषयका साथै जय नेपाल पार्टी गठन र पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको राणाले बताएका छन् ।

हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा राणा र पूर्वराजा शाहबीच छुट्टै ‘वान–टु–वान’ कुराकानी भएको जय नेपाल पार्टीका नेताहरूले बताएका छन् ।

पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार भेटवार्ता समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित थियो । उनले भेटलाई ‘फलदायी’ भएको बताएका छन् ।

भेटपछि राणाले नयाँ पार्टी गठनबारे पूर्वराजा शाहलाई जानकारी गराएको बताए । उनका अनुसार पूर्वराजा शाहले पार्टी गठनप्रति शुभकामना दिँदै सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।

‘नयाँ पार्टी गठन भएको विषयमा उहाँको शुभकामना छ । राय–सल्लाह पनि दिनुभयो । समसामयिक राजनीतिक र सामाजिक अवस्थाबारे लामो कुराकानी भयो,’ राणाले भने ।

राणाले जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्दै अघि बढ्ने कार्यदिशा लिएकोबारे पनि पूर्वराजालाई जानकारी गराएका थिए ।

उनका अनुसार पार्टीले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा समेत भाग लिने तयारी गरेको छ । पार्टीले देशभरबाट योग्य र सक्षम उम्मेदवार छनोटका लागि आह्वानसमेत गरिसकेको राणाले बताए ।

‘हामी प्रदेश र स्थानीय चुनावमा भाग लिन्छौं । मुलुकभर राम्रा मानिसहरू उम्मेदवारका लागि खोजिरहेका छौं,’ उनले भने ।

राणाले स्थानीय तहलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सक्ने शिक्षित, सक्षम र उत्साही व्यक्तिहरूलाई उम्मेदवार बन्न आह्वान गरिएको जानकारी दिए ।

राप्रपाको महामन्त्री पद छाडेर राणाले हालै जय नेपाल पार्टी गठन गरेका हुन् । पूर्वराजा शाह आफूले राप्रपा छाडेर नयाँ पार्टी गठन गरेको विषयमा जानकार रहेको पनि राणाले बताए ।

प्रतिक्रिया

ताजा समाचार