काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको फैसला आएपछि मात्रै थप राजनीतिक प्रक्रिया अघि बढाउने संकेत गरेका छन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवादको पहल गरिरहेका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरसँग आइतबार बिहान भएको भेटमा देउवाले अदालतको निर्णय पर्खने बताएका हुन् ।
भेटमा देउवाले ‘अदालतको फैसला कुरौँला, संवादको विपक्षमा छैन’ भनेको महरले जानकारी दिए । उनका अनुसार देउवा पार्टीभित्रको विवाद संवादमार्फत समाधान गर्ने विषयमा सकारात्मक देखिएका छन् ।
सर्वोच्च अदालतले साउन २१ गते आफ्नै अघिल्लो फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएपछि देउवा उक्त मुद्दाको अन्तिम निर्णयको पर्खाइमा छन् ।
यसबीच कांग्रेस संस्थापन पक्षले अघि बढाएको महाधिवेशनको तयारी र कार्यतालिकाबारे पनि पार्टीका दुवै पक्षले सर्वोच्च अदालतको आदेशलाई चासोका साथ हेरिरहेका छन् ।
पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न तहमा संवाद र भेटवार्ता भइरहेका बेला देउवाको पछिल्लो अभिव्यक्तिलाई संवादको बाटो खुला राख्ने संकेतका रूपमा हेरिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित