राप्रपामा दुईथरी ह्वीप, मुख्यमन्त्री थापाको विश्वासको मतलाई लिएर विवाद चर्कियो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले लिने विश्वासको मतलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्किएको छ।

विश्वासको मतको विषयमा राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई फरक–फरक ह्वीप जारी गरेका छन्। आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएकी थिइन्। मतदान गर्न नसक्ने सांसदलाई तटस्थ बस्न वा प्रदेशसभा बैठकमा अनुपस्थित हुनसमेत भनिएको थियो।

तर, प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन निर्देशन दिएका छन्। उनको निर्देशनात्मक पत्रमा भदौ ७ गते बसेको बैठकको निर्णय, दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार उक्त ह्वीप जारी गरिएको उल्लेख छ।

मुख्यमन्त्री थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। यही विषयलाई लिएर राप्रपाभित्र दुई समूह आमनेसामने भएका हुन्।

पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भई मुख्यमन्त्री थापालाई समर्थन गरेको भन्दै राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने निर्णय गरिसकेको छ। उनलाई पार्टीको सदस्यतासमेत निलम्बन गरिएको छ।

राप्रपाका तीन प्रदेशसभा सदस्य पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका छन्। पार्टीको केन्द्रीय निर्णय, प्रदेश संसदीय दल र सरकारमा सहभागी सांसदहरूको भूमिकाबीच देखिएको मतभेदले राप्रपाभित्रको विवाद थप सतहमा आएको हो।

प्रतिक्रिया

ताजा समाचार