काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद अमरेशकुमार सिंहले समाजमा अराजकता, हत्या, हिंसा र बलात्कारका घटना बढ्दै जानुले सरकारप्रति जनताको विश्वास घट्दै गएको बताएका छन्।
उनले बारा र सप्तरीका घटनालाई मात्र हेरेर नहुने भन्दै सरकार बनेयता विभिन्न क्षेत्रमा देखिएका घटना, असन्तुष्टि र बेथितिको गम्भीर समीक्षा गर्नुपर्ने बताए।
‘हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुईवटा घटनालाई मात्रै हेर्न मिल्दैन,’ सिंहले भने, ‘दिनका दिन भइरहेको घटनाले हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको देखाउँछ।’
उनले अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको बताए। समाजमा विश्वास र भरोसा कमजोर हुँदा अपराध बढ्ने भएकाले यस विषयमा गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, रास्वपाका महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएको र घटनाका आरोपितले मेडिकलका क्रममा दिएको बयान सार्वजनिक गरिएकोप्रति आपत्ति जनाए।
‘मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ। अनि मेडिकल गर्दै गर्दा आरोपितले बोलेका कुराहरू सार्वजनिक रूपमा जनतामाझ राखिन्छ,’ आचार्यले भने, ‘यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ।’
रास्वपा सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनको माग गरिन्।
उनले महिलाको राजनीतिक सहभागिता बढे पनि महिलामाथि हुने हिंसा र अपराध रोक्न नसकिएको बताइन्। घर–परिवारदेखि सडक, सामाजिक सञ्जाल र संसद्सम्म महिलाले भोगिरहेका हिंसाका घटनालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
‘एउटा छोरीलाई छोरी हुनु नै पापजस्तो बनाइएको छ। हामीले संविधान मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने ?’ क्षेत्रीले प्रश्न गरिन्।
गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर सत्तारुढ दलकै सांसदहरूले सरकारको सुरक्षा व्यवस्था, कार्यशैली तथा संवेदनशील घटनासँग सम्बन्धित सूचना सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाएपछि सरकारमाथि घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही गर्न दबाब बढेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित