कालो चश्मा लगाउनुको कारण खुलाउँदै प्रधानमन्त्री शाहले संसद् सचिवालयमा बुझाए चिकित्सकीय रिपोर्ट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चश्मा लगाउनुको कारण खुलाउँदै चिकित्सकीय रिपोर्टसहित संसद् सचिवालयमा पत्र बुझाएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले चिकित्सकको रिपोर्टसहित पत्र पठाएका हुन्।

यसअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद् बैठकमा कालो चश्मा नलगाउन निर्देशन दिएका थिए। आँखाको समस्याका कारण चश्मा लगाउनैपर्ने भए चिकित्सकीय रिपोर्ट पेस गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले आँखामा सुख्खापनका कारण उज्यालो प्रकाशमा हेर्न समस्या हुने भएकाले चश्मा लगाउनुपरेको पत्रमा उल्लेख गरेका छन्। उनले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालको चिकित्सकीय रिपोर्टसमेत पेस गरेका छन्।

रिपोर्टमा शाहलाई ‘ड्राइ आई डिजिज’ अर्थात् आँखा सुख्खा हुने समस्या देखिएको उल्लेख छ। उज्यालो प्रकाशमा समस्या कम गर्न आवश्यकताअनुसार आँखामा औषधि प्रयोग गर्न तथा सनग्लास लगाउन चिकित्सकले सुझाव दिएका छन्।

प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन्। उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

प्रतिक्रिया

ताजा समाचार