

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठकले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
महाधिवेशनको तयारीअन्तर्गत असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।
बैठकले महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालालाई आवश्यक परामर्श गरी केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत गठन गर्ने जिम्मेवारी दिएको छ।
त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ।
जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनका लागि तयारी समिति गठन गर्न सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूको सिफारिसमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको कुइँकेलले बताए।
उनका अनुसार केन्द्रीय प्रतिनिधिले यथाशीघ्र जिल्लामा पुगेर भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गर्नेछन्।
विदेशस्थित जनसम्पर्क समितिहरूका अधिवेशन तयारी समिति पनि आवश्यक परामर्श गरी सचिवालयले गठन गर्ने कुइँकेलले बताए।
संस्थापन पक्षले सहमतिको प्रयास नगरेपछि महाधिवेशन प्रक्रिया अघि बढाउनुपरेको नेता डा. प्रकाशशरण महतले बताए।
‘उहाँहरू एकलौटी रूपमा अघि बढ्नुभयो। महाधिवेशनको कार्यतालिका रोक्न नमानेपछि हामी चुप लागेर बस्ने कुरा भएन। त्यसैले महाधिवेशनको कार्यतालिका ल्याएका हौँ,’ महतले भने।
बैठकले प्रदेश तथा स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित तहले उम्मेदवारको नाम संकलन तथा उपयुक्त उम्मेदवार छनोटका लागि आवश्यक प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ।
देउवा समूहको अर्को बैठक भदौ २६ गते बस्ने तय भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित