देउवासँग संवाद हुन नसकेको गगनको ब्रिफिङ : ‘चार पटक समय माग्दा पनि भेट्न मान्नुभएन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको ब्रिफिङ गरेका छन्।

दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा थापाले आफूले देउवाको सचिवालयमार्फत चार पटक भेटका लागि समय मागे पनि नपाएको जानकारी गराएका हुन्।

गगनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘शेरबहादुर दाइले भेटघाटका लागि समेत समय दिनुभएन। संवादमा रहन पनि नचाहनुभएको हिसाबले उहाँले पार्टी एकता नचाहेको प्रस्ट देखिन्छ। मैले चार पटक भानु देउवासँग कुरा गर्दा पनि समय पाइनँ।’

देउवाको सचिवालय मात्र नभई उनीनिकट नेताहरू पनि संवादमा आउन नचाहेको थापाले बैठकलाई जानकारी गराएको ती नेताले बताए।

देउवा सभापति थापासँग संवादमा आउन नचाहनुले पार्टीभित्रको एकताप्रति उहाँ इच्छुक नरहेको बुझ्नुपर्ने ती नेताको भनाइ थियो।

सभापति थापाले उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग भने वार्ता सकारात्मक भएको जानकारी गराएका थिए।

ती नेताका अनुसार थापा खड्का र कोइरालासँगको संवादप्रति आशावादी छन्। उनीहरूसँगको संवादले बल पुर्‍याएकै कारण क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई समेत महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरिएको हो।

ती नेताले भने, ‘पूर्ण र शेखर दाइप्रति उहाँ आशावादी हुनुहुन्छ। संवादले बल पुर्‍याएकै कारण उहाँहरूको मूल मागलाई सम्बोधन गर्ने हिसाबले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरेका हौँ। दुई जना नेतासँगको वार्ताको मूल चाहना पनि त्यही थियो।’

प्रतिक्रिया

ताजा समाचार