जेन्जी आन्दोलनले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन्जी आन्दोलनका क्रममा अङ्गभङ्ग भएकाहरूका परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आजको दिनलाई नेपाली इतिहासमा ‘नयाँ जागरणको विस्फोट’ भएको दिनका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो, त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट अस्वीकृति पत्र थियो। त्यो आन्दोलनले एउटा जबरजस्त सन्देश दियो– यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो। यसलाई अब कुशासन मञ्जुर छैन।’

जेन्जी आन्दोलन पूर्णतः स्वस्फूर्त जागरण भएको दाबी गर्दै लामिछानेले कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ– हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’

लामिछानेले आफूहरूलाई रचनात्मक खबरदारी गर्न र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गरिरहन आग्रह गरेका छन्।

उनले आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिनुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ।’

लामिछानेले जेन्जी आन्दोलनले देखाएको मार्गबाट आफूहरू विचलित नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया

ताजा समाचार