विवाद अन्त्य गरी १५औँ महाधिवेशनको तयारीमा जुट्न देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

देउवाले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन पनि आग्रह गरेका छन्। पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाउन खोजेको उनको आरोप छ।

लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा नहुने देउवाको भनाइ छ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नआउँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने उनले बताएका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको उल्लेख गर्दै देउवाले यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको दाबी गरेका छन्।

विशेष महाधिवेशन किन गर्नुपरेको हो भन्ने प्रश्नको जवाफ अझै नेता–कार्यकर्ता र जनताले नपाएको देउवाको भनाइ छ। अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने भन्दै गरिएको प्रचारलाई निर्वाचन परिणामले समेत गलत साबित गरेको उनले बताएका छन्।

पार्टीभित्र सहमति र सहकार्यबाट समस्या समाधान गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना अघि बढ्नु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको देउवाले बताएका छन्।

आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको उल्लेख गर्दै देउवाले पार्टीले आफ्नो अनुभवको आवश्यकता ठाने जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ।

विधान र संविधानअनुसार महाधिवेशनका लागि पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमतिबिना हतारमा अधिवेशन गरेर पार्टीलाई कमजोर वा विभाजित गर्ने प्रयास भए आफू मुकदर्शक भएर बस्न नसक्ने देउवाले चेतावनी दिएका छन्।

देउवाले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका साथ मंसिरमा हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार