
विराटनगर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई नेकपा एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
एमाले प्रदेश कमिटी पदाधिकारीको हिजो बसेको बैठकले शेर्पामाथि कारबाही गर्ने निर्णय गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित शेर्पाले निरन्तर पार्टीविरुद्ध अभिव्यक्ति दिएको तथा पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उनलाई कारबाही गरिएको एमालेले जनाएको छ।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाका अनुसार जिल्ला कमिटीबाट कारबाहीका लागि सिफारिस भएर आएकाले प्रदेश कमिटीले त्यसलाई अनुमोदन गरेको हो।
शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत थिइन्। पार्टीबाट निष्कासन भएपछि उनको उपप्रमुख पदसमेत संकटमा परेको छ। उनलाई उपप्रमुख पदबाट हटाउन एमालेले प्रक्रिया अघि बढाएको जनाएको छ।
एमाले भोजपुरले साउन ८ गते शेर्पालाई कारबाहीका लागि प्रदेश कमिटीसमक्ष सिफारिस गरेको थियो।
शेर्पासँगै भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका प्रधानमाथि जिल्ला कमिटीले गरेको कारबाही सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(२) मा जनप्रतिनिधिमाथि राजनीतिक दलले कारबाही गर्दा अपनाउनुपर्ने व्यवस्थासम्बन्धी प्रावधान छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित