एमाले सचिवालय बैठक : राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति गरेको छ।

भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार अपराह्न बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो।

एमालेको १०औँ सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदनसमेत अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रूप दिएको हो।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेका प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन बनाइएको थियो। उक्त प्रतिवेदनलाई सचिवालय बैठकले अनुमोदन गरेको हो।

पछिल्लो प्रतिवेदन भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले तयार गरेका थिए। प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समेटिएको छ।

यसअघि चर्चामा रहेको ‘ओलीको तत्काल राजीनामा (पुनर्गठन)’ भन्ने शब्दावली भने पछिल्लो प्रतिवेदनबाट हटाइएको छ।

कार्यदल र सचिवालय बैठकमार्फत प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक सबै एजेन्डा तय भएको एमालेले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार