नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक भोलि, महाधिवेशन कार्यतालिका पुनरावलोकन हुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्।

बैठक भोलि केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, महाधिवेशनको कार्यतालिकालगायत विषयमा छलफल हुनेछ। साथै, भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामको पनि समीक्षा गरिनेछ।

नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। त्यसैले भोलिको बैठकले महाधिवेशनको कार्यतालिका पुनरावलोकन गर्न सक्ने प्रवक्ता ज्वालाले बताए।

नेकपाले राष्ट्रिय महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको थियो।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ भित्र वडा अधिवेशन र भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो।

तर, भदौ मसान्तसम्म पनि सदस्यता नवीकरण तथा विस्तारको काम पूरा हुन सकेको छैन। कार्यतालिकाअनुसार असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ।

यसअघि तय गरिएको कार्यतालिका प्रभावित भएकाले भोलिको बैठकले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउन सक्ने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार