‘छोराको लाससँग सांसद पद साटेको’ आरोप सम्झिँदै संसद्मै रोइन् रचना खतिवडा

काठमाडौं । रास्वपाकी सांसद रचना खतिवडा संसद् बैठकमै रोएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै दुर्गा प्रसाईंले लगाएको आरोप सम्झिँदै भावुक भएकी हुन्।

उनले आफू प्रधानमन्त्रीको आग्रहमा सांसद बनेको बताउँदै भनिन्, “प्रधानमन्त्रीले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। तमाम जेनजी र सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ। यत्रो परिवर्तन आएपछि सरकारले बाटो बिराउँछ भनेर निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ।”

खतिवडाले आफ्नो राजनीतिक यात्राको उद्देश्य शासकहरूले गलत बाटो समाते समयमै सच्याऊन् भन्ने मात्रै रहेको बताइन्।

उनले भनिन्, “जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन। तर विडम्बना, मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले ‘छोराको लासमाथि सांसद पद साटेकी’ भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु।”

आफ्नो व्यक्तिगत पीडामाथि राजनीतिक आक्रमण गरिएको उनको भनाइ थियो।

“तपाईंहरूका छोराछोरी तपाईंसँग छन्। उनीहरू हाँस्छन्, खेल्छन् र भविष्य देख्न पाउँछन्। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ,” उनले भावुक हुँदै भनिन्, “यो ठाउँमा उभिएर तपाईंहरू एकपटक हेर्नुस् त। आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। त्यसैले आरोप लगाउनुअघि हजारपटक सोचिदिनुस्। एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुस्।”

प्रसाईंले आफूलाई लगाएको आरोपको जवाफ दिँदै खतिवडाले आफू ‘मेडिकल माफिया’ बन्न राजनीतिमा नआएको पनि बताइन्।

प्रतिक्रिया

ताजा समाचार