
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले)का सांसदबीच सवाल–जवाफ भएको छ। मंगलबारको बैठकमा नियमापत्तिमाथि नियमापत्ति भएको हो।
बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले न्यायालयले दुईतिहाइको सरकारलाई काम गर्न नदिएको आरोप लगाए।
“यो न्यायालय बोकेर हिँड्यौँ भने स्वस्थानी कथामा महादेवले सतिदेवीको शव बोकेर हिँडेजस्तो हुन्छ। जहाँ–जहाँ गयो, त्यहीँ–त्यहीँ पतन हुने,” उनले भने, “स्वस्थानी व्रत कथामा सतिदेवीको मस्तिष्क कहाँ पतन भयो भन्ने कुरा आजसम्म खोजीको विषय छ। यस्तै होला हाम्रो न्यायालयको न्याय कहाँ पतन हुन्छ, पत्तै हुँदैन।”
न्यायालय परिवर्तन आजको आवश्यकता भएको भन्दै उनले यस विषयमा बहस सुरु गर्नुपर्ने बताए। विगतमा न्यायालयले राजनीतिक दलहरूलाई स्वीकार नगरेको उनको धारणा थियो।
“अब पालो हाम्रो छ। सक्किने कि सच्चिने? सच्चिने हो भने न्यायालय सच्याउनेतर्फ अब बहस सुरु हुनुपर्छ। संसद् र सरकारमा बहस सुरु हुनुपर्छ,” उनले भने।
न्यायालय परिवर्तन नगरे व्यवस्था नयाँ भए पनि अवस्था पुरानै रहने उनको भनाइ थियो।
न्यौपानेको अभिव्यक्तिप्रति एमाले सांसद गुरु बरालले आपत्ति जनाए। उनले न्यायमूर्तिमाथिको हमला स्वीकार्य नहुने भन्दै गलत अभिव्यक्ति सच्याउन माग गरे।
“न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ। जेनजी आन्दोलनका बेलामा सर्वोच्चलगायत धेरै अदालतमा आगो लगाएर यो देशको न्याय व्यवस्थामाथि हमला गरियो,” उनले भने, “अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ?”
त्यसपछि न्यौपानेले बरालको भनाइप्रति पुनः नियमापत्ति जनाए। सभामुखको आसनमा रहेकी उपसभामुख रुबी कुमारीले ध्यानाकर्षण भइसकेको भन्दै न्यौपानेलाई बस्न आग्रह गरिन्।
न्यौपानेले आफूले नबोली कसरी ध्यानाकर्षण भयो भन्दै प्रश्न गरे।
“विपक्षी बेञ्चबाट जे कुरा बोलियो, संविधानको धारा २१ (घ) विपरीत बोल्दै हुनुहुन्छ। संसद्को विरुद्धमा बोल्दै हुनुहुन्छ,” उनले भने।
न्यायालय सुधारको विषयमा बहस आवश्यक रहेको भन्दै उनले संसद् छलफलको थलो नभएको हो र भन्दै प्रश्नसमेत गरे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित