
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्दा विमानस्थलमा अघिल्ला प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा देखिने तामझाम देखिएन।
प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। उनी सानो प्रतिनिधिमण्डलसहित अमेरिका प्रस्थान गरेका छन्। विदाइका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएन। सेनाले सलामी दिने परम्परासमेत देखिएन। प्रधानमन्त्रीलाई विदाइ गर्न मन्त्री तथा उच्च पदाधिकारीहरूको लावालस्कर पनि विमानस्थल पुगेन।
गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल भने आफ्नै हिसाबले विमानस्थल पुगेर प्रधानमन्त्रीलाई विदाइ गरेका थिए।
प्रधानमन्त्री शाह राष्ट्रिय पोशाकमा पनि देखिएनन्। उनले कोट–पाइन्टसँग स्पोर्ट्स जुत्ता लगाएका थिए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन पनि अनौपचारिक पोशाकमै देखिए।
सधैँजसो सँगै हिँड्ने प्रधानमन्त्री शाह र बेन यसपटक भने छुट्टाछुट्टै विमानस्थल पुगे। प्रधानमन्त्रीले भीआईपी कक्ष प्रयोग गरेका थिए भने बेन सामान्य कक्षबाट विमानस्थल प्रवेश गरेका थिए।
अरू यात्रु बोर्ड भइसकेपछि मात्रै प्रधानमन्त्री शाह बालुवाटारबाट विमानस्थलतर्फ प्रस्थान गरेका थिए। विमान नजिकै पुगेर दुई मन्त्रीले उनलाई विदाइ गरे। उनीहरूसँग फूलगुच्छा पनि थिएन। प्रधानमन्त्री विमानमा चढेलगत्तै जहाज उडेको थियो।
कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले भने प्रधानमन्त्रीलाई विदाइ गर्न विमानस्थल पुगेनन्। उनले बालुवाटारस्थित कार्यकक्षमै प्रधानमन्त्री शाहलाई विदाइ गरेका थिए। वाग्लेले प्रधानमन्त्रीलाई एउटा पुस्तकसमेत उपहार दिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित