समानान्तर महाधिवेशनका लागि देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक, कुन जिल्लामा को?

काठमाडौँ । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले विभिन्न जिल्लामा संयोजक तोकेको हो।

डा. कोइरालाले हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन्। यही असोज १५ गते वडा अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको समूहका नेता एनपी साउदले जानकारी दिए।

साउदका अनुसार कोशी प्रदेशका आठ जिल्लामा संयोजक तोकिएका छन्। पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईँ, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ।

मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजक तोकिएको छ।

मधेस प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन।

बागमतीका ११ जिल्लामा संयोजक

बागमती प्रदेशका ११ जिल्लामा पनि समूहले संयोजक तोकेको छ। दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ।

दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ। भक्तपुरका संयोजक थापा यसअघि नै जिल्ला सभापति हुन्।

गण्डकीका आठ जिल्लामा संयोजक

गण्डकी प्रदेशका आठ जिल्लामा संयोजक तोकिएको छ। गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई संयोजक तोकिएको छ।

लुम्बिनीका १२ जिल्लामै संयोजक

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा संयोजक तोकिएका छन्। नवलपरासी पश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक तोकिएको छ।

कर्णालीका आठ जिल्लामा संयोजक

कर्णालीका आठ जिल्लामा पनि संयोजक तोकिएका छन्। डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ।

सुदूरपश्चिमका आठ जिल्लामा संयोजक

सुदूरपश्चिमका आठ जिल्लामा पनि संयोजक तोकिएको छ। बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारूलाई संयोजक तोकिएको छ।

कञ्चनपुरका संयोजक बोगटी यसअघि नै जिल्ला सभापति थिए। उनी अहिले संस्थापन पक्षविरुद्धको समूहमा उभिएका छन्। कैलालीमा रामसमझ रानालाई सहसंयोजक तोकिएको छ।

संयोजकहरूले सम्बन्धित जिल्लामा इतर समूहका तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार