जबराको पक्राउबारे दुलालको प्रश्न– ‘हामी कानुनी राज्यमा छौँ कि अराजकताको बाटोमा?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले देशका विभिन्न भागमा चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला सरकारले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थामा पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए ।

विपद्का कारण नागरिक समस्यामा परिरहेका बेला सरकारको ध्यान अन्यत्र केन्द्रित भएको भन्दै उनले तत्काल पीडितको उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह गरे ।

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाबारे बोल्दै दुलालले पक्राउ पुर्जीबिना गरिएको कारबाही कानुनी राज्यको मान्यताविपरीत भएको दाबी गरे ।

सरकारलाई प्रश्न गर्दै उनले भने, ‘हामी कानुनी राज्यमा छौँ कि अराजकताको बाटोमा? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

सुरक्षा थ्रेटको कारण देखाउँदै जबरालाई पक्राउ गरिएको र १२ घण्टा नबित्दै रिहा गरिएको घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।

विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशमाथि गरिएको व्यवहारले कानुनी राज्यको उपहास भएको दाबी गर्दै दुलालले सरकारलाई संवैधानिक र कानुनी बाटोबाट राज्य सञ्चालन गर्न सचेत गराए ।

प्रतिक्रिया

ताजा समाचार