कोइराला परिवारको चौथो पुस्ताबाट रिचा कांग्रेस महाधिवेशन प्रतिनिधिको मैदानमा

काठमाडौँ । कोइराला परिवारको रगतमै कांग्रेस बगेको छ भनिन्छ। पिताजी कृष्णप्रसाद कोइरालापछिको दोस्रो पुस्ताका तीन भाइ छोरामध्ये एकै परिवारबाट नेपालका प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति बने।

तीनैमध्येका एक प्रधानमन्त्रीका नातिनीले कोइराला परिवारको चौथो पुस्ताबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी छन्। कांग्रेसका संस्थापक तथा सभापति एवं पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी रिचा कोइराला काठमाडौं–१ बाट महाधिवेशन प्रतिनिधिका लागि मैदानमा उत्रिएकी हुन्।

उनी प्रजातन्त्र सेनानी क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी हुन्। नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनका जिजुबुबा कृष्णप्रसाद कोइराला, हजुरबुबा मातृकाप्रसाद कोइराला र बुबा कमलप्रसाद कोइरालाले जेलनेल भोगेका थिए। रिचा सोही परिवारको चौथो पुस्ताकी सदस्य हुन्।

कोइराला परिवारका एकमात्र कम्युनिस्ट नेता थिए उनका पिता कमलप्रसाद कोइराला। उनका बुबा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला कम्युनिस्ट गतिविधिमा लागेकै कारण कमल कोइराला जेल परेका थिए।

रिचाले भने पाँच वर्षअघि कोइराला परिवारलाई नै ‘सरप्राइज’ दिँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेकी थिइन्।

कांग्रेस विभाजित भएर महाधिवेशनमा गएको अवस्थामा चौथो पुस्ताकी सदस्य रिचाले संस्थापन पक्षका नेता गगन थापालाई आफ्नो नेता मानेकी छन्। जबकि अर्को पक्षको नेतृत्व उनका काका शशांक कोइरालाले गरेका छन् भने शेखर कोइराला तटस्थ देखिएका छन्।

‘रुख र चारतारा अनि कांग्रेसको विरासत जहाँ छ, आफू त्यहीँ रहन्छु,’ रिचाले बताइन्।

आफू राजनीतिमा महत्वाकांक्षी नभई कोइराला परिवारको विरासत कायम राख्ने उद्देश्यले कांग्रेस राजनीतिमा जोडिएको उनले बताइन्। यसपटक महाधिवेशन प्रतिनिधि बनेर पार्टीको नीतिगत तहमा पुग्न चाहेको उनको भनाइ छ।

कांग्रेसका नेता तथा कार्यकर्ताबाट आफूले हौसला पाइरहेको भन्दै उनले महाधिवेशन प्रतिनिधिमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गरिन्। काठमाडौं–१ को महाधिवेशन प्रतिनिधिको निर्वाचन आज बानेश्वरस्थित आनन्द बैंक्वेटमा भइरहेको छ।

रिचा केही वर्षयता मातृकाप्रसाद कोइराला प्रतिष्ठानको अध्यक्षका रूपमा समेत सक्रिय छिन्। उनले प्रतिष्ठानमार्फत विभिन्न सामान्य कार्यक्रमहरू गर्दै आएकी छन्।

कांग्रेसमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको जति चर्चा मातृकाप्रसाद कोइरालाको हुने गरेको पाइँदैन। जबकि मातृका उनीहरू दुवैका दाइ थिए र उनीहरूभन्दा पहिले नै प्रधानमन्त्री तथा कांग्रेस सभापति बनेका थिए।

पछि कांग्रेसको आन्तरिक विवादका कारण मातृकाले सक्रिय राजनीति छाडेपछि कोइराला परिवारको यो शाखा कांग्रेस राजनीतिमा ओझेलमा परेको थियो। त्यसको अर्को कारण मातृकाका छोरा कमल कोइराला चर्चित कम्युनिस्ट नेता बन्नु पनि थियो।

कमल कोइराला मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठहरूको समूहमा थिए। कालान्तरमा उनी एमालेको केन्द्रीय नेतृत्वमा समेत रहे। २०५१ सालमा मोरङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी पछि दक्षिण कोरियाका लागि नेपाली राजदूत पनि बने।

कमल कोइरालाको एक वर्षअघि निधन भएको थियो।

प्रतिक्रिया

ताजा समाचार