अनुशासनविपरीत जानेमाथि अब कडा कारबाही हुन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा बाँधिन निर्देशन दिएका छन्।

हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको सन्देह अन्त्य गरेको उल्लेख गर्दै ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताए।

‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन। केन्द्रीय कमिटी बैठकलाई हामीले ‘कट-अफ डेट’ मानेका छौँ। अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी खुसी हुने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कडा कारबाही हुन्छ,’ उनले भने।

मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पारे।

‘दुई कार्यभारमध्ये कुन समयमा कुनमा केन्द्रित हुने भन्ने निर्णय पार्टीले निर्धारण गर्छ। हामी निर्वाचनमा केन्द्रित हुन्छौँ र जित्छौँ,’ उनले भने।

जनसंगठनहरू निष्प्रभावीजस्तै भएको उल्लेख गर्दै ओलीले अब तिनको पुनर्गठन गरिने बताए। ‘पुनर्गठनको नाममा अध्यक्ष हटाउने खेल अपराधपूर्ण थियो। केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भयो, तर अब क्षमा हुँदैन। अहिले प्रतिनिधि परिषद् बैठकतिर अल्झिने बेला होइन, चुनावको तयारीमा लाग्ने बेला हो,’ उनले भने।

नेता–कार्यकर्तालाई अर्जुनको जस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुस लीको जस्तो एकाग्रताका साथ सम्पूर्ण शक्ति संगठन निर्माणमा लगाउन ओलीले निर्देशन दिए।

देशलाई जबर्जस्ती पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक मच्चाउने प्रयास भइरहेको भन्दै उनले त्यसलाई रोक्न सिंगो पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय सम्पत्ति, सिंहदरबारलगायत ऐतिहासिक संरचना तथा नागरिकका निजी घरमा आगजनी र आतंक मच्चाइएको उल्लेख गर्दै ओलीले गैरसंवैधानिक कदमका कारण देश संकटमा परेको दाबी गरे। एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामा ल्याउन नेतृत्व लिने उनको जिकिर थियो।

विगतको निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य घेराबन्दी, योजनाबद्ध विध्वंस र आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले अब सामूहिक स्वार्थलाई अघि बढाउनुपर्ने बताए।

विरोधीहरूले फैलाएका भ्रम चिर्न पार्टीले चाँडै सशक्त ‘डिजिटल क्याम्पेन’ सञ्चालन गर्ने पनि उनले बताए।

अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी मात्र हुने ओलीको भनाइ थियो। उनले भने, ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन।’

नेताहरूलाई राजधानी वा सुविधाभोगी ठाउँमा बसेर ‘टुरिस्ट’ जस्तो नघुम्न र कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन पनि ओलीले निर्देशन दिए।

‘अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ। आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका एमालेसँग मात्रै भएकाले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्,’ ओलीले भने।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण महासचिव पोखरेलले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार