मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, सहमहामन्त्री संग्रौलासहित नेता–कार्यकर्ता घाइते

विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ। सुन्दरहरैँचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद बढेपछि झडप र तोडफोड भएको हो।

अधिवेशनमा बुधबार मनोनयन गर्ने कार्यसूची थियो। तर उद्घाटनसमेत नहुँदै तोडफोड र कुटपिट भएपछि अधिवेशन प्रभावित भएको छ।

घटनामा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।

कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलामाथि पनि हातपात भएको बताइएको छ।

यसअघि पनि क्रियाशील सदस्यताको विवादका कारण मोरङ–६ अन्तर्गतका वडा अधिवेशन समयमा हुन सकेका थिएनन्।

मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। उनी कांग्रेसको महाधिवेशन प्रक्रियाबाट अलग छन्। अधिवेशनमा अवरोध सिर्जना गर्न कोइरालानिकट कार्यकर्ता संलग्न रहेको कांग्रेस संस्थापन पक्षले दाबी गरेको छ।

यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा कोइरालानिकट नेता देवराज तामाङ थिए। उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो।

बुधबार अधिवेशनस्थलमा तामाङ पनि उपस्थित थिए। उनले अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट पक्षले तोडफोड गरेको दाबी गरे। तर तोडफोडमा आफू निकट कार्यकर्ता संलग्न रहेको भन्ने आरोप गलत भएको उनले बताए।

क्रियाशील सदस्यताको विवादकै कारण असन्तुष्ट वडाका प्रतिनिधिबीच विवाद भएको उनको भनाइ छ। आफू निकट कार्यकर्ताले आक्रमण गरेको भन्ने आरोपबारे उनले प्रमाणित गर्नुपर्ने बताए।

वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उत्पन्न विवादका कारण अधिवेशनस्थलमा तनाव बढेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार विवाद उग्र बनेपछि नेता तथा कार्यकर्ताबीच हातपात र तोडफोड भएको थियो।

विकसित परिस्थितिलाई साम्य पार्दै विवाद समाधानको प्रयास भइरहेको कांग्रेस नेता रमेशजंग रायमाझीले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार