
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा कुटपिट भएपछि क्षेत्रीय अधिवेशन संयोजक परिवर्तन गरिएको छ।
बुधबार मोरङको सुन्दरहरैँचामा अधिवेशन सुरु हुनुअघि नै नेता चुमनारायण तबदारसहित तीन जनामाथि आक्रमण भएको थियो। क्षेत्रीय अधिवेशनको जिम्मेवारी पाएका नेतामाथि नै आक्रमण भएपछि कांग्रेसले बिहीबार संयोजक परिवर्तन गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले बिहीबार मण्डललाई संयोजक तोकिएको पत्र पठाएका थिए।
संयोजक परिवर्तनसँगै बुधबार रोकिएको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुने कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलाले जानकारी दिइन्। अधिवेशनस्थलमा आक्रमण भएपछि निर्वाचन स्थलसमेत परिवर्तन गरिएको छ।
शुक्रबार बिहान ७ बजेदेखि बुढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।
बुधबारको घटनामा नेता चुमनारायण तबदार र चेतराज रेग्मीलगायत घाइते भएका थिए। सहमहामन्त्री संग्रौलामाथि पनि दुर्व्यवहार भएको थियो।
यसअघि क्रियाशील सदस्यता विवादका कारण क्षेत्र नम्बर ६ को वडा अधिवेशन निर्धारित समयमा हुन सकेको थिएन।
मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कोइराला कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाबाट अलग छन्।
क्षेत्र नम्बर ६ का तत्कालीन क्षेत्रीय सभापति कोइरालानिकट नेता देवराज तामाङ थिए। केन्द्रीय नेतृत्वले असहयोग गरेको भन्दै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो। तामाङ पछिल्लो समय संस्थापन पक्षमा आएका छन् र उनी पुनः क्षेत्रीय सभापतिका दाबेदार थिए।
बुधबारको अधिवेशन बिथोल्ने समूहमा कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षले दाबी गरेको छ। उक्त आरोप निराधार रहेको तामाङले बताएका छन्।
कोइरालाको सचिवालयले पनि घटनामा नेता कोइरालाको नाम जोडेर गरिएको प्रचार निराधार रहेको जनाएको छ। उनका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जालमार्फत अधिवेशनस्थलमा भएको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक प्रचार गरिएको बताएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित