कांग्रेस महाधिवेशनमा हारेका नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिएर पराजित भएका नेताहरूले त्यसपछि हुने जिल्ला र प्रदेश कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०७६ (संशोधनसहित) अनुसार पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवारी दिएको व्यक्ति सोही अवधिमा आफूले उम्मेदवारी दिएको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको स्मरण गराइएको छ।

समितिले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका व्यक्तिले त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।

त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार