
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा आयोजित पार्टीको महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो। अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो। तर, पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान भएको हो।
उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन्।
उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।
महासचिवमा सिरहाका सञ्जयकुमार यादव ६१८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। महासचिव पदका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए। झाले २२० र सिंहले १६५ मत प्राप्त गरे। उनीहरू दुवैले २० प्रतिशत मतको सीमा पार गर्न नसकेको जनमत पार्टीले जनाएको छ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे।
सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।
सात सचिव पदका लागि नौ जना प्रतिस्पर्धामा थिए। वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित