
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि साझा योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका हुन् ।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै उल्लेख्य आर्थिक विकास गरेको उदाहरण दिँदै उनले नेपालले पनि आगामी २० वर्षभित्र विकसित मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित योजना बनाउनुपर्ने बताए ।
‘अहिले पनि समय छ, सबैले सोचौँ । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर र चीन ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ भट्टराईले भने ।
उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे ।
‘त्यसको एउटा योजना बनाऔँ । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ । त्यसो गरे मात्रै देश बन्छ,’ उनले भने ।
भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा समेत जोड दिए । विगतबाट पाठ सिकेर नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो ।
‘अब पाठ सिकौँ । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भने।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित