
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र प्राप्तिसँगै थारू समुदायको पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै चौधरीले संविधानमा अधिकार सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताएका हुन् ।
१९ दिने जनआन्दोलनमा थारू समुदाय पनि सहभागी भएको स्मरण गर्दै उनले गणतन्त्र स्थापनाका लागि आफूहरूले लाठी र पानीका फोहरा खाएको बताए । तर, गणतन्त्र प्राप्तिपछि थारू समुदायको पहिचान र धार्मिक आस्थासँग कुनै पनि सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।
‘गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हाम्रो पहिचानसँग कुनै पनि कुराको साटफेर गर्न पाइँदैन,’ चौधरीले भने, ‘हाम्रो दसैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ । हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन् ।’
थारू समुदायको जनसंख्या ६–७ प्रतिशत रहेको उल्लेख गर्दै चौधरीले राज्यका निर्णायक तहमा समुदायको पर्याप्त प्रतिनिधित्व हुन नसकेको गुनासो गरे । प्रधानन्यायाधीश, प्रधानसेनापति र मुख्यसचिवजस्ता उच्च पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भन्दै उनले कांग्रेस नेतृत्वसँग प्रश्नसमेत गरे ।
चौधरीले संविधान निर्माण तथा कमैया मुक्ति अभियानमा नेपाली कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा उल्लेख गरिएका अधिकार व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागसमेत पुनः उठाएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित