
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि जनआक्रोश र असन्तुष्टि नघटेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले नेपाली समाजमा ठूलो अविश्वास, बेचैनी र असन्तुष्टि रहेको भन्दै जुनसुकै बेला जनआक्रोशको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए।
उनले अहिले चुनाव सम्पन्न भएको, नयाँ सरकार बनेको र सरकारसँग दुई तिहाइ बहुमत रहेको अवस्थामा बाहिरबाट हेर्दा सबै ठीकठाक देखिए पनि अवस्था त्यस्तो नरहेको बताए।
‘अहिलेको समय झट्ट हेर्दा शान्त छ। चुनाव भएको छ, सरकार छ, दुई तिहाइको बहुमत छ, प्रतिपक्ष छौँ, सबै ठीकठाक देखिन्छ। तर यस्तो होइन,’ उनले भने, ‘अस्ति भर्खर मधेशको घटनाले के देखायो भने सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ।’
थापाले नेपाली समाज अझै अस्थिर र अशान्त रहेको बताए। जनतामा रहेको असन्तुष्टिका कारण सम्बोधन हुन नसके फेरि कुनै पनि बेला जनउभारको अवस्था आउन सक्ने उनको भनाइ छ।
‘नेपाली समाज बेचैन छ, ठूलो निराशा र असन्तुष्टि छ। चुनाव भयो, नयाँ पार्टी आएको छ, सबै ठीकठाक देखिन्छ। तर यो असन्तुष्टिका कारणहरू सम्बोधन नभएका कारण कुनै पनि बेला फेरि कुनै खालको जनउभारको स्थिति आउन सक्छ,’ उनले भने।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित