
काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको हो।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भने, ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा हामी भेला गर्छौं।’
भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष, साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने बस्नेतले बताए।
एमालेले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको उनले जानकारी दिए।
स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने बस्नेतले बताए।
आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्। उनले पार्टीको वरिष्ठ नेताको शपथसमेत लिएकी छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित