
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि तय गरिएको मतदान शुक्रबारका लागि सारिएको छ। निर्वाचन समितिले आवश्यक मतपत्र समयमै छाप्न नसकेपछि मतदानको समय एक दिन पछाडि सारिएको हो। समितिका अनुसार बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सम्पन्न भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए। उनीहरूको उम्मेदवारीको वैधता परीक्षण गर्न समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो।
महाधिवेशनका लागि २३ प्रकारका मतपत्र आवश्यक पर्नेमा कुल १ लाख ८० हजार प्रति आवश्यक हुने अनुमान गरिएको थियो। समितिले भने २ लाख प्रति मतपत्र छपाइ गरेको जनाएको छ।
कटुवालले भने, “८५० जनाले मनोनयनपत्र दर्ता गराउनुभएको छ। उहाँहरूको वैधतासम्बन्धी परीक्षण सकिएको छ। संख्या धेरै भएकाले समय लाग्यो। २३ वटा मतपत्र आवश्यक हुन्छन्। डिजाइन गरिएको छ। १ लाख ८० हजार मतपत्र आवश्यक हुने भयो। हामीले २ लाख मतपत्र छपाइ गरेका छौँ।”
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै मतदानस्थलमा उपस्थित हुन भनिएको छ। निर्वाचन समितिले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। शुक्रबार साँझ ५ बजेसम्म मतदान प्रक्रिया पूरा हुने समितिको दाबी छ।
तीन दिनभित्र मतपरिणाम
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन्।
उनका अनुसार मतपत्र छपाइ, मतदानस्थल, मतपेटिका तथा आवश्यक जनशक्तिको तयारी पूरा भइसकेको छ। शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा लगिनेछन्।
पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ। मतगणनाका लागि ५०० जना कानुन व्यवसायी तयारी अवस्थामा राखिएको संयोजक खड्काले जानकारी दिए।
उनले भने, “मतगणना गर्न जनशक्तिको अभाव हुँदैन। ५०० जना तयारी अवस्थामा राखेका छौँ। पार्टी कार्यालयमा स्थान पनि प्रशस्त छ। १२/१३ स्थानमा एकैपटक सुरु गर्छौँ। तीन दिनभित्र सबै नतिजा आउँछ। प्रतिनिधिहरूले दसैँ घरमै मनाउन पाउनुहुन्छ।”
मतदानमा प्रविधिको प्रयोग किन भएन?
निर्वाचन समितिले यसपटक डिजिटल भोटिङ (विद्युतीय मतदान) प्रणाली प्रयोग गर्ने विषयमा प्राविधिक कम्पनीहरूसँग छलफल गरेको थियो। तर, उम्मेदवार र महाधिवेशन प्रतिनिधिको संख्या अत्यधिक भएकाले प्रविधिको प्रयोग सम्भव नभएको सदस्यसचिव कटुवालले बताए।
प्राविधिक अध्ययनका क्रममा डिजिटल प्रणालीमार्फत एक जना प्रतिनिधिलाई मतदान गर्न ४० मिनेटसम्म लाग्ने देखिएको थियो। यस हिसाबले सबै प्रतिनिधिले मतदान सम्पन्न गर्न तीन दिनभन्दा बढी समय लाग्ने भएपछि अन्तिम समयमा कागजी मतपत्र नै छाप्ने निर्णय गरिएको समितिले स्पष्ट पारेको छ।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित