कांग्रेसमा कुनै गुट छैन, सबै वर्ग र समुदायलाई समेटेर नेतृत्व बनाउँदैछौँ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले केही नेता तथा उम्मेदवारले आफ्नो स्वार्थअनुकूल गतिविधि गर्दैमा त्यसलाई औपचारिक रूपमा गुट भन्न नमिल्ने बताए। उनले पार्टीले सबै वर्ग, समुदाय र पेसालाई समेटेर नयाँ नेतृत्व निर्माण गर्न खोजेको उल्लेख गरे।

पौडेलले पार्टीको विधान परिमार्जन गरी केन्द्रीय समितिको आकार बढाउनुको मुख्य उद्देश्य विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको बताए।

‘३५ वर्षमुनिका युवा समूहबाट २१ जना तथा विज्ञ र पेसाकर्मीबाट सात जनालाई केन्द्रीय समितिमा प्रवेश गराउने व्यवस्था गरिएको छ,’ उनले भने।

त्यसैगरी श्रमिक, प्रजातन्त्र सेनानी, द्वन्द्व प्रभावित तथा सहिद परिवारलाई पनि केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको उनले बताए।

कांग्रेसले समावेशी समूहको दायरा पहिलेभन्दा फराकिलो बनाएको उल्लेख गर्दै पौडेलले पदाधिकारी तहमा समेत समावेशिताको दायरा विस्तार गरिएको बताए। नयाँ व्यवस्थाले कांग्रेसको केन्द्रीय समितिमा विभिन्न समुदाय र पेसागत समूहको उपस्थिति सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार