बालकांग्रेसदेखि पार्टी सभापतिसम्म : गगन थापाको राजनीतिक आरोहण

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा थापा ६ हजार ५८४ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो।

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थापा झन्डै चार दशकको यात्रापछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभएको हो। विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका उहाँले सोही वर्ष बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।

विसं २०४८ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नम्बर ३३ को सचिव बन्नुभएका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित हुनुभएको थियो।

विसं २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका उहाँ २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बन्नुभयो। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै संगठनभित्र आफ्नो प्रभाव विस्तार गर्नुभएका थापा विसं २०६१ मा तत्कालीन राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा उभिनुभएको थियो। त्यस क्रममा उहाँमाथि राजद्रोहको मुद्दासमेत लागेको थियो।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उहाँलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो। विसं २०६२/६३ को जनआन्दोलनमा लोकतन्त्र र गणतन्त्रका पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि थापा राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभयो।

विसं २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभएका थापाले संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उहाँ संविधान निर्माण प्रक्रियामा थप सक्रिय हुनुभयो। विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर उहाँले कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा योगदान पुर्‍याउनुभयो।

विसं २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएका थापाले आफ्नो नौमहिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारलाई प्राथमिकता दिनुभएको थियो। विसं २०७४ र २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले संसद्मा शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय उठाउँदै आउनुभएको थियो।

विसं २०७८ मा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्नुभयो। पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको आवाज उठाउँदै आउनुभएका उहाँले पछिल्लो समय नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुभयो।

विसं २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा सहभागिताको बहस तीव्र बनेको थियो। त्यसपछि थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशनको पक्षमा पहल गर्नुभयो। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्नुभएका थापा त्यसको नौ महिनापछि १५औँ महाधिवेशनबाट पुनः सभापति निर्वाचित हुनुभएको हो।

राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न थापाले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आउनुभएको छ। युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने, सार्वजनिक शिक्षामा लगानी बढाउने, स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने र सुशासन कायम गर्ने विषय उहाँका राजनीतिक एजेन्डाका प्रमुख पक्ष हुन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको थापाको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिएको छ। सभापतिका रूपमा उहाँले पार्टीलाई कसरी अघि बढाउनुहुन्छ भन्ने विषय अब कांग्रेसको आगामी राजनीतिक यात्राका लागि महत्त्वपूर्ण हुनेछ।

प्रतिक्रिया

ताजा समाचार